उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले १ हजार १२२.६७ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले आज बिहान जंगलमा खोजतलास गर्ने क्रममा ५२ बोरा गाँजा फेला पारेको हो। गाँजा लुकाइराखेको अवस्थामा बा १६ च ५२६९ नम्बरको बोलेरोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका करिब ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





