रसुवा बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा सम्पर्कविहीन भएका छन् । १० भदौमा भोटेकोसी (ल्हेन्दे) नदीमा आएको विनाशकारी बाढीपछि सिम्खडासँग सम्पर्क नभएको हो ।

सिम्खडा ९ भदौमा काठमाडौंबाट तिब्बतको कैलाश मानसरोवर यात्रामा निस्किएका थिए । सोही क्रममा ९ भदौमा सिम्खडा रसुवाको टिमुरेस्थित होटल कैलाशमा बास बसेका थिए । सिम्खडासँगै आमा गोमा सिम्खडा र दिदी शारदा सिम्खडा यात्रारत थिए । उनीहरू तीनै जना १० भदौ बिहानदेखि सम्पर्कमा नआएका हुन् ।
बाढी आएको दिन बुधबार बिहान साढे ७ बजेसम्म सिम्खडाको काठमाडौंस्थित परिवार र शिलापत्रसँग सम्पर्क भएको थियो । त्यसयता उनीसँग कुनै सम्पर्क हुन सकेको छैन । सम्पर्कमा नरहेका सिम्खडाको खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।






