काठमाडौँ- पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोका कारण निधन भएको छ। सोही दुर्घटनामा आरोहण दलका सबै सदस्यहरूको ज्यान गुमेको आरोहण टोली एलाइट एक्स्पेडले पुष्टि गरेको हो।

निर्मल पुर्जा नेतृत्वको उक्त संस्थाले दुर्घटनामा उनीसँगै उनका सहकर्मी तथा गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पालगायतका टोली सदस्यहरूले ज्यान गुमाएको शनिबार दिउँसो पुष्टि गरेको हो।
एलाइट एक्सपेडले शोक वक्तव्य सार्वजनिक गर्दै भनेको छ- ‘आज हामीले निम्सलाई मात्र नभई यस त्रासदीमा ज्यान गुमाउने हाम्रा विश्वासिला आरोहण साथीहरू र गाइडहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पा लगायत सबैलाई गुमाएका छौँ। यस अकल्पनीय क्षतिमा शोक सन्तप्त परिवारजन र आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।’
निर्मल पुर्जा उत्कृष्ट र साहसी आरोही मानिन्थे। उनले आफ्नो अदम्य साहस, विनम्रता र “मानवीय क्षमता असीमित छ” भन्ने दृढ विश्वासका माध्यमबाट विश्वभरका करोडौँ मानिसहरूलाई प्रेरित गरेको एलाइट एक्स्पेडले उल्लेख गरेको छ। उनले एलाइट एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काइडाभ निम्सदाइ र निम्सदाइ स्टोर जस्ता संस्थाहरू स्थापना गरेका थिए।
कठिन र प्रतिकूल मौसमका बीच पनि खोजी तथा उद्धार कार्यमा खटिएका उद्धारकर्ता र सहयोग गर्ने सबै निकायहरूप्रति पनि एलाइट एक्सपेडले आभार व्यक्त गरेको छ।
पाकिस्तानमा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममा बिहीबार बिहान करिब ९ बजेतिर हिमपहिरो जाँदा निर्मल पुर्जासहित १० जनाको आरोहण टोली सम्पर्कविहीन भएको थियो।
उनीहरू ब्रोड पिक हिमालको क्याम्प-२ र क्याम्प-३ को बीचमा (करिब ६,६०० देखि ७,००० मिटरको उचाइमा) सम्पर्कविहीन भएका थिए।
चुचुरोतर्फ अघि बढ्ने क्रममा आएको हिमपहिरोले टोलीलाई करिब हजार मिटर तलसम्म बगाएको र त्यसपछि टोलीको सम्पर्क विच्छेद भएको थियो।





