नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन्। उनले बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई पराजित गरेका हुन्।

प्रवलजंगले एक हजार ७९ मत प्राप्त गरेका छन्। प्रतिस्पर्ध ज्योत्सना श्रेष्ठले ७५० मत पाइन्। प्रवलजंगलाई अहिले महासंघको अध्यक्ष बनेका अन्जन श्रेष्ठ समूहको समर्थन थियो। मंगलबार सम्पन्न निर्वाचनमा एसोसियट उपाध्यक्ष पदका लागि कुल एक हजार ८३४ मत खसेको थियो। जसमा प्रवलजंगले ५८.८३ प्रतिशत मत हासिल गरेका हुन्।
महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा तीन कार्यकाल पूरा गरिसकेका प्रवलजंग लोमस समूहसँग आबद्ध छन्। औषधि, सिमेन्ट, बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा उनी लगानीकर्ता तथा सञ्चालकका रूपमा सक्रिय छन्। हाल उनी सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्षसमेत हुन्।
महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा प्रवलजंग करिब एक दशकदेखि महासंघको आन्तरिक समीकरणमा सक्रिय रहँदै आएका छन्। व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्षम व्यवसायीका रूपमा उनले आफ्नो पहिचान स्थापित गरेका छन्। ५१ वर्षीय प्रवलजंग इन्जिनियरिङ पृष्ठभूमिका हुन्। उनले आफ्नो करियरको सुरुआत नेपाल टेलिकमबाट गरेका थिए, जहाँ प्रविधि, संरचना र व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान हासिल गरेका थिए। त्यसपछि निजी क्षेत्रमा प्रवेश गर्दै सिमेन्ट, औषधि, बैंकिङ र बीमा क्षेत्रमा आफ्नो संलग्नता विस्तार गरेका हुन्।
यो निर्वाचनमा प्रवलजंगको जीतको चर्चाको अर्को कारण भनेको पाण्डे परिवारको विरासत हो। वरिष्ठ उद्योगी प्रदीपजंग पाण्डे तीन दशकभन्दा बढी समयदेखि उत्पादन, औषधि, वित्त र ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका छन्। कसमस सिमेन्ट इन्डस्ट्रिज र लोमस फार्मास्युटिकल्स जस्ता कम्पनीहरूमा उनले नेतृत्व गर्दै आएका छन् भने महासंघमा दुई कार्यकाल उपाध्यक्ष र अध्यक्ष दुवै पद सम्हालिसकेका उद्योगी हुन् प्रदीपजंग पाण्डे उनी २०७० सालमा ४८औँ साधारणसभाबाट महासंघको अध्यक्ष निर्वाचित भएका थिए। त्यसबेला उनले अध्यक्षका प्रत्यासी भाष्करराज राजकर्णिकारलाई १७७ मत अन्तरले पराजित गरेका थिए। महासंघको नेतृत्वमा छोरा प्रवलजंगको प्रवेशले भने बुवा प्रदीपजंग पाण्डेको निरन्तरता र परिवर्तन दुवैको सन्देश दिएको छ। बुवाको संस्थागत यात्रालाई पछ्याउँदै आएका उनी आधुनिक वित्तीय प्रणाली र कर्पोरेट सुशासनको अनुभवसहित नयाँ दृष्टिकोण ल्याउन सक्ने व्यक्तिका रुपमा व्यवसायीमाझ परिचित छन्।






