अनामनगरस्थित विवादित आठतले भवन भत्काइएपछि पूर्व पत्रकार विश्वमणि सुवेदी ले आफ्नो पुरानो अनुभव सार्वजनिक गर्दै उक्त संरचना पहिल्यैदेखि विवादित रहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत साझा गरेको अनुभवअनुसार, २०७६ सालतिर सोही भवनसँग सम्बन्धित व्यक्तिसँग उनको प्रत्यक्ष संवाद भएको थियो।

सुवेदीका अनुसार त्यतिबेला प्रेस चौतारी र प्रेस सेन्टर एकता भई प्रेस संगठन बनेको अवस्थामा उनी कार्यालय सदस्य तथा तत्कालीन प्रदेश ३ (उपत्यकासहित) को इन्चार्जका रूपमा कार्यरत थिए। एकीकृत संगठनका लागि कार्यालय खोज्ने क्रममा उनले उक्त भवनका घरधनीसँग सम्पर्क गरेका थिए। तर घरधनीले आफू शक्तिशाली व्यक्तिहरूसँग निकट रहेको उल्लेख गर्दै अत्यन्त महँगो भाडा मागेका थिए र संवादको क्रममा अपमानजनक शैलीमा प्रतिक्रिया दिएको सुवेदीले बताएका छन्।
उनका अनुसार घरधनीले एक फ्ल्याटको मासिक ८० हजार रुपैयाँ भाडा र एक वर्षको रकम अग्रिम माग गरेका थिए। जब उनले यसबारे थप छलफल गर्ने प्रयास गरे, घरधनीले ‘तिम्रो हैसियत के हो?’ भन्दै गाली गर्दै फोन काटेको अनुभव उनले स्मरण गरेका छन्। उक्त घटनाले आफूलाई त्यस भवनप्रति शंका उत्पन्न भएको पनि उनले बताएका छन्।
त्यसपछि उनले तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सँग परामर्श गरेका थिए। सुवेदीका अनुसार मेयर शाक्यले उक्त भवन सार्वजनिक जग्गा अतिक्रमण गरेर मापदण्डविपरीत बनाइएको हुन सक्ने र भविष्यमा भत्काउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए। उनले त्यस्तो भवनमा कार्यालय नराख्नसमेत सुझाव दिएको सुवेदीको भनाइ छ।
सुवेदीले अन्तिमपटक पुनः घरधनीसँग सम्पर्क गर्दा पनि उस्तै व्यवहार भएको उल्लेख गरेका छन्। उनका अनुसार घरधनीले आफूलाई बारम्बार फोन नगर्न चेतावनी दिँदै अपमानजनक शब्द प्रयोग गरेका थिए। उक्त घटनाले आफूलाई उक्त संरचनाको वैधतामाथि गम्भीर प्रश्न उठाएको उनले बताएका छन्।
हाल सरकारले सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध डोजर अभियान चलाइरहेका बेला सोही भवन भत्काइएको घटनाले सुवेदीको उक्त पुरानो अनुभव फेरि चर्चामा आएको छ। उनले आफ्नो अनुभवलाई अहिलेको घटनासँग जोड्दै शक्तिको आडमा बनेका संरचनाहरू अन्ततः कारबाहीको दायरामा आउने दाबी गरेका छन्।






