काठमाडौं- नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते काठमाडौंमा गर्ने प्रस्ताव पेस गरेको छ । सभापति गगन थापाले मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति र पूर्ण कार्यतालिका प्रस्तुत गरेका हुन् ।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी विधानअनुसार एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै कांग्रेसले चैतबाटै महाधिवेशन प्रक्रिया थाल्ने गरी तीव्र गतिमा तयारी अघि बढाउने भएको छ ।
प्रस्तावित महाधिवेशन कार्यतालिकाअनुसार चैत २१ देखि चैत मसान्तसम्म क्रियाशील सदस्यता अद्यावधिक विशेष अभियान हुने, वैशाख १ देखि वैशाखको मसान्तसम्म ६ हजार ७४३ वटै वडामा क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने, जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने, असार १५ गतेसम्म केन्द्रबाट सदस्यताको अन्तिम छानबिन टुंग्याउने, असार मसान्तसम्म क्रियाशील सदस्यता विवरण निर्वाचन समितिलाई बुझाउने, साउन ६ गते – गाउँ/नगर वडा अधिवेशन गर्ने, साउन १२ गते गाउँ/नगरपालिका अधिवेशन गर्ने, साउन २३ गते प्रदेश सभा क्षेत्र अधिवेशन गर्ने, साउन ३० गते प्रतिनिधि सभा क्षेत्र अधिवेशन गर्ने, भदौ ६ र ७ गते जिल्ला अधिवेशन गर्ने, भदौ १५ र १६ गते प्रदेश अधिवेशन गर्ने र भदौ २४ देखि २६ गते केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने प्रस्तावित गरिएको छ ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसले नियमित महाधिवेशनको तयारीमा जुटेको हो । १४औँ महाधिवेशन २०७८ मंसिर २४–२८ गते भएको थियो । सभापति थापाले प्रस्तुत गरेको यो कार्यतालिका केन्द्रीय समिति बैठकमा छलफलपछि औपचारिक निर्णयमा पुग्ने बताइएको छ ।






