काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु पनि बद्नाम र विवादबाट अछुतो रहन सकेका छैनन् ।

कोही कालोसूचीमा परेका त कोही सुन तस्करीमा मुछिएर कारबाही भोगेका व्यक्तिहरु समेत सांसद बनेपछि चौतर्फी आलोचना हुन थालेको छ ।
धनुषा १ बाट चुनाव लडेका किशोरी साह कालोसूचीमा परेको उजुरीपछि चुनावअघि नै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
निर्वाचन परिणाम घोषणापछि सिन्धुली १ बाट निर्वाचित रास्वपा सांसद धनेन्द्र कार्की कालोसूचीमा परेको समाचार सार्वजनिक भएको छ ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम ४ ठाउँमा छ । उनी गत माघ १९ गते पहिलोपल्ट कालोसूचीमा परेका थिए । त्यसपछि माघ २९ गते २ पटक र फागुन १५ गते पुनः कालोसूचीमा परेको देखिन्छ ।
आईसीएफसी फाइनान्सको उनको नाममा रहेको खातामा पर्याप्त पैसा नभएका कारण उनी कालोसूचीमा परेका हुन । उनले काटेको चेक बाउन्स भएको थियो ।
फागुन १५ गते कालोसूचीमा परेको विषय बिजु मल्टिपर्पस सहकारीसँग सम्बन्धित छ । उनी सहकारीको संस्थापक निर्देशक रहेका कारण कालोसूचीमा परेका हुन् ।
कार्कीपछि उदयपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित (रास्वपा) का सांसद सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य बाहिरिएको छ ।
निर्वाचन जितिसकेपछि तामाङको कालोसूची प्रकरण बाहिर आएको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि बारम्बार चेक बाउन्स प्रकरणमा मुछिएको हो ।
केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालोसूचीको नम्बर १०१,५१४ मा रहेको छ । जहाँ सञ्चालकका रूपमा लीला राई र सूर्यबहादुर तामाङ दुवैको नाम उल्लेख गरिएको छ ।
रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगीका नाइके जीबी राईले सहकारीबाट किनेको २ अर्बको जग्गामा मुछिएकी नितिमा कार्की पनि सर्लाही–१ बाट निर्वाचित भएकी छन् । लामिछाने जोडिएको र जीबी राईले पोखराको सूर्यदर्शन सहितका ५ वटा सहकारीका बचतकर्ताको करिब २ अर्ब रुपैयाँमा खरिद गरिएको जग्गा अपचलनमा संलग्न बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीकी श्रीमती हुन् नितिमा कार्की ।
भण्डारी र कार्कीको नाममा रहेको चेनी क्यापिटललाई सहकारीका बचतकर्ताको बचतबाट खरिद गरेको ललितपुरको प्राइम लोकेसनमा रहेको सैंबू भैंसेपाटीमा रहेको २३ रोपनी ७ आना जग्गा जीबी राईले अति सस्तो दरमा बिक्री गरेका थिए ।
सहकारीको बचतबाट किनेको जग्गा जीबीले शंकास्पद ढंगले चेनीलाई बिक्री गरेका थिए । ७ लाख आनामा जीबी राईले चेनी क्यापिटललाई बिक्री गरेको खुलेको थियो । जुन जग्गा आनाकै न्यूनतम ५० लाख पर्न जान्छ । यद्यपी उक्त जग्गा सीआईबीको अनुसन्धानपछि रोक्का राखिएको छ ।
सरकारले रोक्का राख्न लागेको थाहा पाएपछि हतार हतार चेनीका नाममा जीबी राईले उक्त जग्गा लुकाएका थिए । अहिले यिनै मुद्दाहरु मिलाउनलाई रास्वपाका सांसद मनिष झासँग सेटिङ गरी बाजेको सेकुवाका भण्डारीले श्रीमती नितिमालाई चुनाव लडाएर सांसद बनाएका हुन् ।
अब उक्त जग्गा रोक्का फुकुवाका लागि भण्डारीले चलखेल सुरु गरिसकेको स्रोत बताउँछ । जीवी राईले ठगीको रकमबाट खरिद गरी चेतन र नितिमाका नाममा लुकाएको भैंसेपाटीको उक्त जग्गा सीआईबीको पत्रका आधारमा मालपोत कार्यालय ललितपुरले रोक्का राखेको छ ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, बीरगञ्जको सानोपाइला, नेपालञ्ंजको समानता सहकारीका बचतकर्ताले प्रहरी कार्यालयमा उजुरी दिन थालेपछि जीबी राईले चेनी क्यापिटलका नाममा उक्त जग्गा पास गरेको तथ्य खुलिसकेको छ ।
जीबी राईले उक्त जग्गा सरकारले रोक्का राख्न नसकोस् भनेर बाजेको सेकुवाका संचालक चेतन र नितिमा दम्पतीका नाममा लुकाएको यसअघि पनि विभिन्न सञ्चारमाध्यमहरुले उजागर गरेका थिए ।
ललितपुरको भैंसेपाटीमा जग्गाको मूल्य न्यूनतम ५० लाख आना पर्दछ । २३ आना ७ पैसा अर्थात् ३ सय ७५ आना हुन आउँछ । जसको मूल्य ५० लाख आनाले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ हुन्छ ।
सहकारीका बचतकर्ताको निक्षेपबाट जीबी राईले किनेको जग्गा चेतन र नितिमाको चेनी क्यापिटलमा लुकाएका जीबी राई भने फरार छन् ।
जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारले रवि लामिछानेको मुद्दा फिर्ता लिने सूचीमा सहकारीको १६ अर्ब बचत हिनामिना गर्ने जीबी राईसमेतको नाम छ ।
राईले सूर्यदर्शन, सुप्रिम सहहितका सहकारी संस्थामा सहकारी ऐन नियमबिपरीत बचतकर्ताको ६५ करोड रकम लगानी गरी डुबाएका थिए । जुन रकम अपचलनमा रास्वपाका सभापति रवि लामिछाने नै मुछिएका छन् ।
बाजेको सेकुवाका चेतन भण्डारी २०७५ सालमा भएको साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा समेत मुछिएका पात्र हुन् ।
भण्डारीकै सहयोगी सुशील खड्का पनि बाग्लुङ–१ बाट सांसद बनेका छन् । त्यसैगरी सुन काण्डमा मुछिएका अर्का विवादित पत्र हुन्, धनञ्जय रेग्मी । स्याङ्जा–१ बाट निर्वाचित रेग्मीले अवैध सुन ल्याएर जरिजाना तिरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको रेकर्डमा उल्लेख छ ।
भन्सार कार्यालयले तत्कालिन पर्यटन बोर्डका सीईओ रेग्मी सुनको अवैध चोरी पैठारीमा दोषी ठहर भएको त्यतिबेलै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलार्ई जानकारी गराएको थियो ।
भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध थियो ।
भन्सार ऐनअनुसार सुन चोरी पैठारी गरी ल्याएकोमा जफत गरिएको उल्लेख गरिएको थियो । साथै १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ पनि विगो तिराइएको समेत उल्लेख गरिएको थियो ।
त्यस्तै अर्का विवादित सांसद हुन्, बदन भण्डारी । काभ्रे–२ बाट निर्वाचित भण्डारी नक्कली आयुर्वेदिक तेल बिक्रि गरेको आरोप लागेका व्यक्ति हुन् ।
उनको कम्पनीले आरोध्य मासिल तेल उत्पादन गरेर बिक्री गर्दै आएको छ । जुन नक्कली भएको भन्दै विगतमा विभिन्न निकायमा उजुरी समेत परेका थिए ।
कपनको देव कम्प्लेक्समा कार्यालय राखेर अहिले पनि उनले यस्तो तेल बिक्री गर्दै आएका छन् । हाडजोर्नी दुख्न ठिक हुने तेल भनेर नक्कली तेल बिक्री गर्दै आएको आरोप लागेका उनी रवि लामिछाने पत्नी निकिता पौडेलले चलाएको नारी टेलिभिजनमा पनि जोडिएका छन् ।
त्यहीबाट निकिता हुँदै रविसँग घनिष्टता बढाएर उनले टिकट पाएका थिए । दिनेश हुमागाईले पाउनुपर्ने टिकट निकिताकै जोडबलमा बदनले पाएपछि हुमागाईले पार्टी नै छाडेका छन् ।
त्यसैगरी सर्लाही–३ बाट निर्वाचित नरेन्द्र साह कलवार क्यासिनो व्यवसायी भएपनि उनले दर्जनौं व्यक्तिको पैसा ठगी गरेको भन्दै केही पीडितहरुले पत्रकार सम्मेलन नै गरेका थिए ।





