काठमाडौं, साउन ३

विदेशमा बसेर पनि नेपाली भाषामा गीत सिर्जना गर्ने प्रयास गरेका युवा गायक सृजन कार्कीले आफ्नो पहिलो र्याप गीत “I Am In California” सार्वजनिक गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियाबाट रिलिज भएको यो गीतमा सृजनले आफ्नै जीवनका संघर्ष, दुःख र मेहनतका कुरा पोखेका छन् । यस गीतले “संघर्ष गरेपछि सफलता पक्कै मिल्छ” भन्ने सन्देश दिन खोजिएको छ ।
नेपालका सृजन करिब ३ वर्षअघि पढाइका लागि अमेरिका पुगेका थिए । नयाँ ठाउँ, नयाँ संघर्ष र कामसँगै पढाइको व्यस्तताबीच पनि उनले संगीतलाई छाडेनन् ।
“विदेशमा आएर भोगेका हरेक अप्ठ्यारा, एक्लोपन र मेहनतलाई नै गीतको विषय बनाएँ । यो गीत सुनेर कसैले हिम्मत पाओस् भन्ने चाहना हो” सृजनले भने ।
उनको पहिलो गीत भएकाले सुरुवातमा केही डर भएपनि श्रोताले दिएको सकारात्मक प्रतिक्रियाले उनलाई थप ऊर्जा मिलेको छ । रिलिज भएको छोटो समयमै गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ ।
अहिले क्यालिफोर्नियामा रहेरै आफ्नो पढाइ सँगै संगीत गरिरहेका सृजनले अब आफ्नै जीवन र समाजका कथालाई आधार मानेर थप र्याप र आधुनिक गीत ल्याउने तयारी गरिरहेको बताए ।
विदेशको भूमिबाट नेपाली युवाको आवाज र संघर्षलाई गीतमा उतारेका सृजनलाई अब श्रोताको साथले अझै अगाडि बढाउने अपेक्षा रहेको छ ।






